काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व–उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण भव्यरुपमा सफल हुने विश्वास व्यक्त गरेकी छन ।
उनले २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा आम नेपाली हर्षित हुनु गर्वको कुरा भएको बताउदै उनले भनिन, ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोण बदलिन्छ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको छ ।’
काठमाडौँमा आयोजित एक अन्तरक्रियामा नेतृ कोइरालाले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा नेपालको बारेमा राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाइदा हुने र नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्ने विश्वास व्यक्त गरेकी छन ।
उनले भनिन, भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’
चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको बताउदै उनले भनिन, हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायीत्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’