चितवन, २४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक हुने साथै नेपालको विकासमा दूरगामी महत्व राख्ने बताउनुभएको छ ।
शुक्रबार चितवनको माडीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा दिवाकर भुसालको १६ औँ स्मृति दिवसको अवसरमा चितवनको माडीमा आयोजित प्रतिमूर्ति अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सीको भ्रमणले नेपालको नयाँ भाग्य रेखा कोरिने बताउनुभयो । कार्यक्रममा प्रचण्डले राष्ट्रपति सीको भ्रमणका समयमा जे सहमति हुँदैछ, यो सबैले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभएको छ ।
२३ वर्षअघि चिनियाँ राष्ट«पति नेपाल आएको स्मरण गर्दै उहाँले यो अवधिमा दुबै देशमा ठूलो परिर्वतन भएको बताउँदै भन्नुभयो, ‘भारतमा पनि राजनीतिक परिर्वतन भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी अत्याधिक बहुमतसहित सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।’
राष्ट्रपति सी भारतबाट नेपाल आउन लागेको भन्दै उहाँले यो भ्रमणले नेपाल, चीन र भारतको सम्बन्धमा पनि महत्व राख्ने बताउँदै भन्नुभयो, ‘यो भ्रमणले दिने सन्देश धेरै ठूलो छ । राष्ट्रपति नेपाल आउने जाने मात्र होइन ।’
“दुई दिने भ्रमण भए पनि २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल आगमन हुँदैछ”, उहाँले भन्नुभयो- “यो भ्रमणले समग्र दक्षिण एशियाली राष्ट्रहरुको सम्बन्धलाई थप उचाई दिनेछ । त्यसैले यो भ्रमण सामान्य भ्रमणका रुपमा बुझ्नु हुँदैन् ।”