काठमाडौँ, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको बताउँदै भन्नुभयो, ‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न । प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गर्दै दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रहरीले कसैको दबाव मान्नु पर्दैन । हुँदैन । निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ । यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’
प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् । आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो । अमर प्रहरी घोषितमध्ये राई विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका व्यक्ति हुन् ।
त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट १ जनालाई सम्मानित गरेको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई उसले लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको हो ।