दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिममुक्त भएका छन् । ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउँपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन् । सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ ।
गत बुधबारदेखि शनिवार मध्यान्नसम्म परेको अबिरल बर्षाका कारण छिपहरमाई गाउँपालिकामा रहेका गाउँहरु, भिस्वा, जयमंगलापुर, मिर्जापुर, बुडगाई, सम्भौंता, टिहुकी, चारगाँहा लगायतका गाउँहरु एकआपसमा र जिल्लाका बाकी भुभाग संग छुटेका छन् । ‘बाढीले गाउँका मुख्य सडकहरु बगाएको छ । नयाँ बनेका पुलका किनारामा सडक कटेको छ,’ गाउँपालिकाका प्रमुख मनोज पटेलले भने, ‘सिमापारीको नहर स्थानीय र भारतीय सशस्त्र सुरक्षा बल मिलेर काटेपछि यता हामीले राहतको साँस फेरेका छौं ।’
दशगजा र नहरको विचमा भारतीय भुभाग र गाउँहरु छन् । यसले गर्दा स्थानीयको दबावमा एसएसबीले बाँधजस्तो नहर काटेपछि नेपाली गाउँका बासिन्दाले पनि राहत पाएका हुन । याे खबर आजकाे नागरिक दैनिकमा छ ।