रुपन्देही, २७ फागुन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाले रोजगारीदाता र श्रमिकबीचको सन्तुन पैदा गराउने बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ, श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ । श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ, श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ ।”
मन्त्री विष्टले सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने भन्दै उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने बताउँदै उदार बनेर मजदूरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो ।