काठमाडौं, २७ फागुन । राजधानीमा खाली जमीन सकिँदै गएको र कंक्रिटको अग्ला अग्ला घरले भरिएकोमा चिन्ता व्यक्त गर्दै सुविधानगर, तिनकुनेका ३५ जना महिलालाई सहभागी गराई कौशी तरकारी खेतीको तालीम दिइएको छ ।
ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगरमा काठमाडौं महानगरपालिका ३२ नं वडा कार्यालयले आयोजना गरेको सो तालीम एकिकृत उपभोक्ता संघ अन्तर्गतको महिला समितिले संयोजन गरेको थियो ।
भान्छामा उत्पादित र खेर जाने वस्तुको प्रयोगबाट प्रांगारिक मल बनाउँदै खाली कौशीमा हरियो तरकारी उत्पादन गर्न सघाउने र वातावरण पनि स्वच्छ र हरियाली बनाउने उद्धेश्यले सो तालीम दिइएको एकिृकत उपभोक्ता संघकी उपाध्यक्ष तथा तालीम संयोजक हीरा थापामगरले बताइन ।
तालीमका सहभागीहरुलाई वाली विज्ञान तथा संरक्षण केन्द्रका वाली वीज्ञ हरिबहादुर भण्डारीले कौशी खेतीबारे आवश्यक तालीम दिएका थिए भने सहभागीहरुलाई कौशी तरकारी खेतीको लागि टोकरी, एक/एक थान कपडाको गमला र ५/५ किलो प्रांगारिक मल पनि वितरण गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।
निर्देशक सुवेदीले विद्यार्थीलाई खेती किसानीबारेको व्यवसायीक शिक्षा विद्यालयमा दिने गरेतापनि अव यस्ता तालीमले उनीहरुले आफ्नो घरमै व्यवहारिक शिक्षा हासिल गर्ने कुरामा जोड दिए ।
वडाध्यक्ष नवराज पराजुलीले उद्घाटन गरेको सो तालीममा वडा सदस्यद्वय हिरादेवी पोखरेल र राजेन्द्रप्रसाद न्यौपाने, एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी लगायतले कौशी तरकारी खेतीको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।
३२ नं वडा कार्यालयले वडाका सबै गृहिणीलाई कौशी तरकारी खेतीको तालीम दिएर अर्गानिक र शुद्ध तरकारी उत्पादनमा दक्ष बनाइ तरकारीमा आत्मनिर्भर बनाउने पहल शुरु गरिसकेको वडासदस्य हिरादेवी पोखरेलले बताइन ।
विद्यालयको तर्फबाट भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले वडाध्यक्ष पराजुली, वडासदस्य पोखरेल, न्यौपाने तथा प्रशिक्षक भण्डारीलाई उपहार प्रदान गरेका थिए ।