बुटवल, २७ फागुन । रुपन्देहीमा नेपाल तरुण दलका कार्यकर्ताको अज्ञात समूहले हत्या गरेको छ ।
आइतबार राति भुलहीमा मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जनाएका छन ।
कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले पुरी तरुण दलको सक्रिय कार्यकर्ता रहेको बताएका छन ।
आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।