काठमाडौं, २७ फागुन । इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेको पुष्टि भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अनुसार एकता इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको जनाएको छ ।
इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन्।
इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा मृत्यु भएको जनाएको छ ।
इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो ।