काठमाडौं, २५ फागुन । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा खस्दा धादिङका ट्रेकिङ गाइड अजय ढकालको मृत्यु भएको र नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विक अनुसार ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको बताएका छन । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।
मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो ।
ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।