काठमाडौँ, २३ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जानका लागि आग्रह गर्नुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज प्रतिष्ठानमा आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा मन्त्री पण्डितले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पार्नुभयो ।
सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताउनुभयो ।